कालिकोटमा १३ जना बेपत्ता

असार ४, काठमाडौ । तीन दिनदेखिको अविरल वर्षापछि कालिकोटको सान्नीगाड खोलामा सोमबार राति आएको बाढीले बगाउदा १३ जना बेपत्ता भएका छन् । घटनास्थल सदरमुकाम मान्मबाट १३ कोस पश्चिम उत्तर पर्छ । मेहलमुडी, मुम्रा र सिप्खानाको बीचमा बग्ने शान्नीगाड खोलामा आएको बाढीले बगाउदा बेपत्ता हुनेमा खोला वारि मेहेलमुडी ४ डंखुलो बजारमा सुतेका मेडिकल संचालक मनबहादुर शाही, थिर्पू घर भएका हुरेन्डेकका प्राविधिक टक्कवहादुर बम, फूकोट घर भएका भएका ओभरसियर कृष्ण न्यौपाने छन् ।
यस्तै सिप्खाना २ चोक्टेबजारमा सुतेका सत्यबहादुर शाही उनकी पत्नी सरिता, उनीहरुका ५ वर्षका एक छोरा र ३ वर्षकी एक छोरीसहित ४ जना, मुम्रा १ की कला थापा, सिप्खानाका चंचला शाही, हिमचुला शाही, २३ वर्षीया कमरा शाही र उनकी १० महिनाकी छोरी र सिप्खाना २ का भुपेन्द्र शाही छन् ।
बाढीले बगाउदा मेहेलमुडी बिर्खर्बहादुर शाही, सवराज बम र सिप्खाना २ का सुरज शाही सक्त घाइते छन् । बाढीले मेहेलमुडी ४ मा पर्ने डंखुल्या बजारका १० घर र सिप्खाना २ चोक्टे बजारका ७ घर बगाएको छ । त्यसैगरी, कालिकोटको सदरमुकाम मान्मसहितका गाविसमा विद्युत सेवा पुर्याएको सान्नीगाड साना जल विद्युत केन्द्रको विद्युत गृहको इन्टेक टंयाकी, ट्रान्समिटर, डेलिभरी मेसिन र १० वटा पोल पनि बगाएको छ ।
त्यस्तै, सान्नीगाड खोलाको एउटा झोलुंगे पुल र एउटा काठे पुल पनि बगाएको छ । पुल बगाउदा मुम्रा, सिप्खाना र मेहेलमुडी गाविसका बासिन्दालाई आवतजावत गर्न पनि कठिनाई भएको स्थानीय प्रमोद न्यौपानेले बताए । बाढीले घर बगाएपछि १७ परिवार विस्थापित भएका छन् ।
त्यस्तै, सोमबार राती सिप्खाना ९ मा आएको पहिरोले घर भत्किदा स्थानीय दल सार्कीको मृत्यु भएको छ भने मुम्रा २ तिते छहडामा पहिरोले जान थालेपछि १० घरका ४३ जना विस्थापित भएका छन् । विस्थापितलाई पोतमारा विद्युत गृहको कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
कर्णाली नदीमा आएको बाढीले कोटवाडा ८ मा पर्ने लालीघाट बजारका १८ पसल र होटल बगाएको छ भने भर्ता ८ जीते बजार पनि जोखिममा परेका छन् ।
यसैगरी सिप्खानामा गएको पहिरोले एक जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment