‘कर्मचारीहरूलाई प्रभावित पार्न विभिन्न दुतावासहरू सक्रिय छन्’ (अन्तर्वार्ता)

महादीप पोख्रेल, अध्यक्ष, राष्ट्रिय कर्मचारी संगठन, निजामति केन्द्रीय समिति

- तपाईंहरुको संगठनको अध्यक्ष को हो ?
  महादीप पोखरेल अर्थात म आफैं ।
- अर्को पक्षले त तपाईं होइन भन्छ । तपाईंलाई त कारवाही गरेको वक्तव्य समेत निकालेको छ नि  त ?

 ति वक्तव्यहरू  झुटा हुन् र कानुन सम्मत छैनन् । महाधिवेशनबाट सर्वसम्मत निर्वाचित म र मेरो नेतृत्वको ८३ सदस्यीय टिम नै महाधिवेशनबाट बनेको टिम हो र त्यो नै आधिकारिक हो । अर्को टिमको विषयमा कुरा उठाउनुभयो, अर्को टिमको विषयमा चाहीँ के हो भने महाधिवेशन पछि असन्तुष्ट भएको  ५०÷६० जनाको समूह, विशेष गरी रुक्म लामिछाने र पम्फा भुषाल(नेकपामाओवादी नेतृ)बाट संरक्षितहरू छुट्टै बसेर समूह घोषणा गरेको हो । अब उहाँहरूको संगठन हो भने त नेपालको कानुन अनुसार ५ हजार निजामति कर्मचारीहरूको हस्ताक्षरसहित फेरि आउन सक्ने तागत राख्नुप¥यो । सक्नुहुन्छ भने नयाँ संगठनको रुपमा दर्ता गर्न सकिन्छ होइन भने त
राष्ट्रिय कर्मचारी संगठनको आधिकारिक महाधिवेशनसम्मत कमिटी भनेको मेरो नेतृत्वको कमिटी नै हो ।

- एउटा महाधिवेशनबाट दुई वटा कमिटी जन्मियो किन ?

 होइन, महाधिवेशनबाट एउटै कमिटी जन्मियो तर, महाधिवेशन सम्पन्न भइसके पछि असन्तुष्टहरू गएर अर्को संगठन बनाएका हुन् । त्यसकारण त्यो महाधिवेशन बाहिरबाट बनेको कमिटि हो । हामीले महाधिवेशनलाई सम्पन्न ग¥यौं । निर्वाचन कमिटिबाट सर्वसम्मत प्रस्ताव पारित भयो । सर्वसम्मत पारित भइसकेपछि पत्रकार सम्मेलन ग¥यौं र त्यसका डकुमेन्टहरूलाई श्रम विभागमा लगेर दर्ता ग¥यौं । तर, महाधिवेशन सम्पन्न भइसकेपछि उहाँहरू छुट्टै बस्नु भयो र नयाँ कमिटी बनाउनुभयो । जुन कमिटी महाधिवेशन बाहिरबाट बनेको हो ।

-  तपाईंहरूसंग सहमत नभएर उहाँहरुले अर्को कमिटी बनाउनुको कारण के थियो ?

कारण के थियो भन्दा हामीले एक वर्ष अगाडिबाट नै राष्ट्रिय कर्मचारी महासंघको अध्यक्ष रुक्म लामिछानेको गलत कार्यशैली, अपारदर्शी कार्यशैली, मनोमानि ढंगले संगठन चलाउने र कमिटी प्रणालीलाई नमान्ने जो उहाँको पुरानो कार्यशैली थियो त्यसलाई सुधार्नु पर्छ सच्च्याउनु पर्छ भनेर हामीले पार्टीमा र महासंघको केन्द्रीय कमिटीमा पनि विषयवस्तु राखेका थियौं । एकवर्ष अगाडिदेखि महासंघको केन्द्रीय कमिटीलाई पूर्ण गरिएको थिएन ।  फ्याक्सन ईन्चार्ज (पम्फा भुषाल) समक्ष पनि यो विषयवस्तु राखेका थियौं । तर, उहाँहरुले सुनुवाई गरिरहनु भएको थिएन । सुनुवाई नभइरहेको र हामीले निजामति कर्मचारीहरूको सामूहिक ढंगले विषयवस्तु राखिसकेपछि उहाँहरुले त्यसलाई अस्विकार गर्दै आउनुभयो, मनोमानि ढंगले संगठनलाई हाँक्न चाहनुभयो र अन्ततः निजामति कर्मचारीको महाधिवेशनसम्म आउँदाखेरी उहाँहरूको गुटबन्दी असाध्यै भद्दा ढंगले प्रदर्शन भयो । उहाँहरूले ईमान्दारीतापूर्वक कुरा उठाउने सबै साथीहरूलाई स्याक गर्न खोज्नु भयो  । त्यो कुरा महाधिवेशनको हलले स्विकार गरेन । तर, उहाँहरूले त्यो महाधिवेशनले गरेका निर्णयहरूलाई अस्विकार गर्नुभयो ।

-  यहाँले भन्नु भयो नि, रुक्म लामिछाने तथा पम्फा भुषालद्वारा संरक्षित । उहाँहरुले संरक्षण गर्नुपर्ने कारण के छ ? तपाईंहरु नराम्रो भएर हो कि ?

 होइन हामी नराम्रो भएर उहाँहरु राम्रो भएर संरक्षण गरेको भए त धेरै नै राम्रो हुन्थ्यो । तर, रुक्म लामिछाने ज्यूको गलत कार्यशैली, अपारदर्शी कार्यशैली, उहाँले गर्ने खुल्ला गुटबन्दी र संगठनको हकमा हामीले कुरा उठाउँदा हाम्रा कुरा नसुनी उतै संरक्षण गर्नुले उनीहरू पनि त्यस्ता गतिविधिमा संलग्न छन् कि भन्ने हामीलाई लागिराछ ।
-  कुन गतिविधि ?
 जस्तो रुक्मजीका आर्थिक क्रियाकलापहरु अलि अपारदर्शी छन् । उहाँले विभिन्न ठाउँबाट लिएका सहयोगहरुलाई हाम्रो कर्मचारीको माथिल्लो टिमभित्र पनि त्यसलाई पारदर्शी गर्नुहुन्न । त्यसलाई उहाँले पार्टीमा बुझाए भन्नुहुन्छ । पार्टीमा बुझाए पनि सबै अधिकारिक हिसाबकिताब देखिदैन त्यसैले उहाँ अपारदर्शी हुनुहुन्छ भन्ने कुरा हाम्रो    हो । अर्को कुरा उहाँ चाहीँ कमिटीको बैठक गर्ने, छलफल गर्ने, सुझाव लिने गर्नुहुन्न वरिपरि दुईचार जना मान्छेहरुलाई राख्नुहुन्छ र तिनै मान्छेहरुलाई परिचालन गर्नुहुन्छ । त्यसरी त कमिटी प्रणाली ध्वस्त हुन्छ । अर्को कुरा उहाँ महासंघको अध्यक्ष हनुहुन्छ तर उहाँको ध्यान अन्तै छ विशेषगरी कमिटीभित्रका अर्थ मन्त्रालय, भूमिसुधार मन्त्रालय, यातायात मन्त्रालयको उहाँलाई धेरै चासो छ । त्यहाँ उहाँले आफूलाई मन परेका कर्मचारीहरुलाई सरुवा गर्नु हुन्छ । र त्यहाँबाट उहाँले पैसा उठाउनुहुन्छ । यो तरिकाले त संगठनलाई सही तरीकाले लादैन, आन्दोलनलाई पनि यसले सही ढंगबाट लादैन, यसले त कर्मचारी संगठनलाई खाली एउटा पैसा उठाउने ट्रेडमार्कको रुपमा मात्र उपयोग गर्ने खतरा हुन्छ । यस्तो चाहीँ गर्नु भएन नि, कमसेकम आर्थिक सहयोगका कुराहरुलाई पनि एउटा सेटमा अलि वैज्ञानिक किसिमले उठाउनुपर्छ र त्यसलाई सही ढंगले उपयोग गर्नुपर्छ भन्ने जो हामीले उठाइरहेका छौं । यो कुरा उहाँहरुको लागि पाच्य भएन र उहाँहरुले यसलाई विरोध सम्झिनुभयो तर यो विरोध थिएन यो एउटा सकारात्मक फिडव्याक थियो । त्यसपछि उहाँहरुले संगठनका इमान्दार साथीहरुलाई हटाउने जस्ता योजनावद्ध क्रियाकलापहरु भए त्यसबाट आन्दोलनको हितको निम्ति फेरि केही साथीहरुलाई जोगाउनु पर्ने हाम्रो पनि एउटा दायित्व र कर्तव्य हुन गयो त्यही दायित्व र कर्तव्य पूरा गर्ने क्रममा अहिलेको यो परिस्थितिमा आइएको हो । उहाँहरुले यस्तो गर्नुभन्दा आफूभित्र भएका कमीकमजोरीलाई सच्च्याउनु र हामीभित्र पनि त्यस्ता केही कमीकमजोरी छ भने उठाईदिने । छलफल र विधिको प्रक्रियाबाट गएको भए सबै एक हुन्थ्यौं । र दुनियाँको अगाडि पनि एउटा राम्रो उदाहरण प्रस्तुत गर्न सकिन्थ्यो । तर, हामी भन्दा माथिल्लो नेतृत्व नै गुटबन्दीमा उत्रने, माथिल्लो लिडरसिपले नै छलफलाई निषेध गर्ने, छलफलका प्रक्रियाहरुलाई बन्देज गर्ने जुन खालको एउटा तानाशाही व्यवाहारहरु देखिए त्यसको विरोध गर्नुको विकल्प थिएन । त्यो हामीले ईमान्दारिता पूर्वक हाम्रो संगठनको हितको लागि ग¥यौं भन्ने हामीलाई लाग्छ ।

- अहिले तपाईंहरु एउटै संगठनलाई दुई वटा पक्षले नै हामी आधिकारिक हौ भनेर हिँडिरहनुभएको हुन्छ, छलफल बैठक, भेलाहरुमा तपार्इंहरुको भेट हुन्छ कि हुँदैन ?

नेपाल सरकारका श्रम मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयहरुमा ट्रेड युनियनहरु सम्बन्धि छलफल र चासो उनीहरुको हुन्छ  । ७ वटा ट्रेडयुनियनहरुको सञ्जाल पनि हामीसंग छ । ति सबै आधिकारिक कार्यक्रमहरुमा मेरो नेतृत्वको टिमले संलग्नता देखाइरहेको छ । हामीहरु बैठकमा जान्छौं ।  हामीलाई मन्त्रालयबाट आधिकारिक पत्र, फोन आएपछि मात्र हामी जान्छौं । उहाँहरु चाहीँ मिटिङ सञ्चालन भइसकेपछि मिटिङको अन्त्यतिर, बीच तर र मिटिङ सकिएपछि आधिकारिक हामी हौं भन्दै विभिन्न ठाउँमा आउनुभएको छ । अलिकति हाँसो अलिकति विस्मातको क्षण पनि आउँछ त्यतिखेर । तर, उहाँहरुसित आफ्नो आधिकारिकता शिद्ध गर्ने कुनै खालको कानुनी कागजपत्रहरु   छैन । नेपाल सरकारको प्रचलित ऐन कानुन अनुसारको आधिकारिकता हाम्रो टिमले लिइसकेको छ ।

-  एउटै संगठनको नाम लिएर दुईदुई वटा टिमले आधिकारिक हामी हौं भनेर दावी गर्दा अलि लाजामर्दो भएन ?

लाज उहाँहरुलाई लाग्नु पर्ने हो । हामीलाई चाहीा विस्मात नै लागिरहेको छ । उहाँहरुलाई लाज किन लागिरहेको छैन, लाजको औषधी के हो हामीले पनि खोजि गर्नुपर्ने भएको छ ।

-  यो विवाद समाधान कहिले हुन्छ ?

समाधानको निम्ति हामीले छलफललाई अगाडि बढाएका छौं । होइन एउटा प्रजातान्त्रिक  आधारबाट संगठनको केन्द्रीय अध्यक्षलाई पनि कारवाही गर्न सकिन्छ । उहाँहरुले बहुमत पु¥याउन सक्नुहुन्छ भने मलाई हटाउन सक्ने प्रावधानहरु उहाँसँग छ । त्यसकारणले निजामति कर्मचारी संगठनको जुन विधान छ हामीसंग त्यो विधानको अधिनमा रहेर हामीले के गर्नुपर्छ बसौं छलफल गरौं भनेर हामीले छलफको प्रस्ताव गरेका छौं उहाँहरुले त्यसलाई वास्ता गरिराख्नु भएको छैन ।

- प्रसंग बदलौं  । चुनाव पनि नजिकै आउनै छ । तपाईंहरु चुनाव बिथोल्छु भन्ने पार्टीसँग आवद्ध भए काम गरिरहनुभएको छ । अब बुथ फाल्न जानुहुन्छ कि बुथको संरक्षण गर्न जानुहुन्छ ?

सरकारले हामीलाई निर्वाचनको निम्ति खटायो भने पक्कै पनि खटिएर जाने र आफैले बुथ फाल्ने भन्ने हुँदैन । त्यो अन्तर्गत सरकारका कर्तव्य कानुनको दायित्वभित्र नै रहेर हामीले काम गर्नुपर्ने हुन्छ र हामी त्यो काम गर्छौं । तर, निर्वाचनको सन्दर्भमा सरकार र सबैसँग हाम्रो माग के छ भने देशको राजनीतिक द्वन्द्वलाई एउटा सहमतिको माध्यमबाट समधान गरौं र सबै राजनीतिक पार्टीहरु चुनावमा भाग लिन जान्, त्यस्तो परिस्थिति निर्माण होस । त्यसपछि हामी राष्ट्रसेवक कर्मचारीहरुले पनि एउटा राम्रो वातावरणमा चुनावको निम्ति खटिन पाइयोस् भन्ने माग छ तर, त्यस्तो हुन सकिराखेको छैन ।

 तर, त्यो हुने दिन पनि देखिदैन अहिलेसम्म ?

तर त्यो होस भन्ने हाम्रो चाहना हो ।

- भएन भने ?
भएन भने हामी राज्यको कर्मचारी भएको हिसावले देश र जनताप्रतिको आफ्नो दायित्व नबिर्सिकन आफ्नो भूमिका निर्वाह गर्नैपर्छ ।

- तर, यस्तोमा अलि नैतिक संकट पर्छ होला हैन ?

 कतिपय कुराहरुमा आफ्ना विचारहरुलाई, आफ्ना असहमतिहरुलाई थाँती राखेर पनि कामहरु गर्नुपर्ने हुन्छ । जागिरको सवाल भएको कारणले गर्दा हामी राज्यको नुनतेल खाएको कारणले गर्दा हामीले केही कामहरु आफ्ना असहमति हुँदाहुँदै पनि गर्नुपर्ने हुन्छ । हाम्रो निम्ति त्यस्तै पनि हुनसक्छ ।

- बेला बेलामा तपाईंले कर्मचारी भित्रको राष्ट्रियताको कुरा गर्नु हुन्छ, कर्मचारीमा राष्ट्रियता भएन भन्नुहुन्छ यसो भन्नुको कारण केहो ?

 यो कसैबाट छिपेको छैन अहिले नेपालको राष्ट्रियतामाथि धेरै विदेशीहरुको चासो छ । यहाँको सरकार परिवर्तन हुने, यहाँको चुनाव हुने, यहाँको संसदमा विभिन्न ऐन कानुन पास हुने सन्दर्भमा विदेशीहरुको चासो मात्र नभएर ठाडो र नाङ्गो हस्तक्षेप छ । यो सबैले बुझिसकेको कुरा हो । त्यो सन्दर्भमा कर्मचारी पनि जोडिएर आउँछ । विभिन्न मन्त्रालयहरुका ऐन नियम ड्राफ्ट गर्नेदेखि लिएर विभिन्न वैदेशिक सन्धिसम्झौताका विषयहरुलाई ड्राफ्ट गर्ने र त्यस्ता विषयहरु उच्चपदस्त कर्मचारीहरु सचिव, सहसचिवहरुको त्यसमा संलग्नता रहन्छ । त्यो बेलामा राष्ट्रघात भइरहेको छ भने नेपाली राष्ट्रियताको संरक्षणको निम्ति र आफ्नो जन्मभूमिको कर्तव्य र दायित्व निर्वाह गर्नको निम्ति राष्ट्र सेवक कर्मचारीहरुले जनताको अगाडि यस्तो राष्ट्रघात भइरहेको छ भनेर जानकारी गराउनु पर्दछ र त्यसैगरी राष्ट्रियताको सवालमा गोपनीयता हुन्न भन्ने मलाई लाग्छ  । त्यसकारण कसैले राष्ट्रघात गर्दैछ भने त्यसमा गोपनियता हुँदैन । राष्ट्रसेवक कर्मचारीमा गोपनियता हुनुपर्छ भनिन्छ तर त्यस्तो समयमा एउटा राष्ट्रभक्त कर्मचारीले गोपनीयता तोडेर त्यस्ता काला कुराहरुलाई जनताको बीचमा ल्याइदिनुपर्छ । र यदी कर्मचारीहरुले आँटे भने त्यो ल्याउन सक्छन् । र राष्ट्रियताको संरक्षणको निम्ति राष्ट्रसेवक कर्मचारीले महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्दछ । जो आजको दिनसम्म जति खेलि राखिएको छैन अबको दिनमा यो हाम्रो कर्तव्य हा,े पर्दा पास गर्नुपर्दछ ।

- राष्ट्रियताका विषयमा गलत हुँदा पनि कर्मचारीहरुले गोपनियता कारण बाहिर ल्याउँदैनन् की अरु कारण पनि केही छन् ?

 यसमा दुई वटा कुरा छन् । गोपनियताको कुरो भनेको बाहानाको कुरा हो । दोस्रो कुरा कतैबाट प्रभावित छन्, परिचालित छन् अथवा एउटा ठूलो ग्राण्ड डिजाइन अनुसार नेपालका कर्मचारीहरुलाई प्रभावित बनाइएको छ । त्यसमा विभिन्न दुतावासहरु पनि सक्रिय छन् । त्यसमाथि पनि हामीले सुनेका छौं सहसचिव, सचिव भइसकेपछि उनीहरुका छोराछोरीका शिक्षादीक्षा समेतको लागि  विदेशका विभिन्न स्कुल तथा युनिभर्सिटीबाट स्कलरशिप आउने गर्दछन् । यि विभिन्न चिजहरु र विभिन्न घेराबन्ीदको कारणले कुनै कर्मचारीलाई पनि घेराभित्र पारिएको र उसले घेरा तोड्न नसकेको पनि हुन सक्छ ।

-  यस्तो कुरा त कर्मचारीका नेतालाई बढी आउँछ भन्छन् नि ?

हो,व्यक्तिगत फाइदा र स्वार्थको लागि गर्दछन् । हो कर्मचारीका नेताहरुलाई पनि कहिँकतैबाट आउने प्रयास भैरहेको छ भन्ने हामीले सुनेका छौं तर, प्रत्यक्ष ढंगले अहिलेसम्म खासै त्यस्तो अनुभूति चाहिँ भएको छैन । तर कार्मचारी मोर्चा भित्र जबजब चाहीँ हामीले अपारदर्शी कुराहरुको विरोध गर्न थाल्दछौ, जब हामीले कमिटी प्रणालीको माग गर्दछौं तबतब तिनै अपारदर्शी र गलत प्रवृत्तिका नाइकेहरुलाई स्थापित गराउन अनेक किसिमका षडयन्त्रहरु हुनेगर्दछ र त्यहाँभित्र भएको इमान्दार तप्कालाई निमोठ्ने कोशिसा गरिन्छ त्यसपट्टी हामीलाई पनि यहाँभित्र यस्तै भएको छ कि भन्ने आशंका लाग्न थालेको छ ।

-  तपाईंले आफैले देखेर, अनुभूति भएरै भन्नु भएको होला नि ? त्यस्तो प्रयास कसरी हुँदोरहेछ ?

यो त विभिन्न मानवीय सहयोगहरुबाट प्रभाव पार्ने कोशिसा गरिँदोरहेछ जस्तो विदेश भ्रमणका अवसरहरु, ठूला प्लेनका सफरहरु, विभिन्न विदेशका स्ट्यान्डर्ड होटलका सेवासुबिधाहरु, औषधि उपचारको बाहानामा, छोराछोरीका शिक्षादिक्षाहरु, विदेशका राम्रा युनिर्भसिटीहरुमा राम्रा अफरहरु यस्ता विविध प्रकारका मानवीय सहयोगहरुमार्फत प्रभावमा पार्ने कोशिस गरिन्छ ।
- अन्तमा भन्नुपर्ने केही छ ?

अहिले नेपालको राष्ट्रियता र जनजिविकाको सवाल खतरापूर्ण रहेको अवस्थामा राष्ट्रसेवक कर्मचारीहरुले राष्ट्रियताको पक्षमा दरोसंग उभिनुपर्दछ । जनजिविकाको सवारमा नेपाल सरकारले जनजिविकाको निम्ति जेजस्ता योजनाहरु ल्याएको छ त्यो थोरै भएपनि जनताको घर दैलोमा पु¥याउनको निम्ति ईमान्दारी पूर्वक जनसेवाको लाग्नुपर्दछ । र नेपालका कर्मचारीहरुले विगतमा हामीले के कति कमीकमजोरी ग¥र्यौ आफूले आफैलाई गम्भिर समिक्षा गरेर रुपान्त्रण गरौं ।

-नेपाल सन्देश

No comments:

Post a Comment