बैतडी, २९ कात्तिक । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचनमा सहभागि दलका कार्यकर्ताहरु बीच नै झडपका घटनाहरुमा बृद्धि हुन थालेको छ । बैतडीको उत्तरपूर्वी क्षेत्र पुरचौडीमा बिहीबार (एमाले)को प्रचारप्रसार टोलीमाथि एकीकृत नेकपा (माओवादी)ले आक्रमण गर्दा छ जना घाइते भएका छन् भने ११ जना सम्पर्कविहीन भएका छन्।
क्षेत्र नं १ को चुनावी प्रचारप्रसारका क्रममा मल्लादेही–९ बबिडामा पुगेको एमाले पूर्व अध्यक्ष नरेन्द्र विष्टसहित २१ जनाको टोलीमाथि
झन्डै एक सयको सङ्ख्यामा आएका एमाओवादी कार्यकर्ताले एक्कासी आक्रमण गरेका हुन्। आधा घण्टाको दुरीमा रहेको पुरचौडी हाटस्थित सेनाको बेस क्याम्प र प्रहरीचौकी भएपनि उनीहरुले सुरक्षाका लागि ध्यान नदिएकोसमेत घाइतेले बताएका छन्। हातहातमा लाठीसहित आएका एमाओवादी कार्यकर्ताले आक्रमण गरेपछि छ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार हुँदैछ भने ११ अझै सम्पर्कमा नआएका घाइते विष्टले बताउनुभयो।आक्रमणपछि एमाले पूर्व अध्यक्ष विष्ट, एमाले निकट दलित सङ्घका केन्द्रीय उपाध्यक्ष नरेश विक, भगिरथ कुँवर, कर्ण विष्ट, दिलीप विष्ट, जनक कुँवरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । उनीहरुले भागेर ज्यान जोगाउन सफल भएको बताए।
घाइतेहरुका शरीरमा लाठीले हिर्काएका निलडाम छन् भने पिठ्युँ, हात र खुट्टामा चोट लागेको छ । घटनापछि एमाले कार्यकर्ताबाट करिब रु एक लाख ५० हजार नगद, मोबाइल, झोलालगायतका सामग्री लुटेर लगेकोसमेत अर्का घाइते नरेश विकले बताए। सिन्धुलीको दुधौंलीमा एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीच आज बिहान भएको झडपमा एकीकृत माओवादी सिन्धुली १ का उमेद्वार लेखनाथ दाहालसहित १० जना घाइते भएका छन् । एकीकृत माओवादीका उम्मेदवार सहितका कार्यकर्ताहरुले एमाले उम्मेदवार गणेशकुमार पहाडी बसेको दुधौंलीस्थित घनश्याम राउतको घरमा घेराउ गर्न जाँदा झडप भएको हो । एमालेसँगको वार्ता सकिएर फर्किने क्रममा दाहाल माथि आक्रमण भएको एकीकृत माओवादीले आरोप लगाएको छ । आक्रमण बाट दाहालको टाउको र हातमा गम्भीर चोट लागेकोे छ । यस्तै, ओखलढुङाको सदरमुकाम स्थित जिविस टोल र पश्चिमको गाम्नाङटार गाविसको वडा नम्बर १ को खाल्डेमा पनि एमाले र एकीकृत माओवादी कार्यकर्ता बीच झडपमा एक जनाको घरमा क्षति पुगेको छ । उता, एकीकृत माओवादी सोलुखुम्बुले आफ्ना कार्यकर्ता रश्मी राईको हत्या नेपाली कांग्रेसले गरेको आरोप लगाएको छ । एकीकृत माओवादी सोलुखुम्बुका इन्चार्ज पासाङ शेर्पाले आज विज्ञप्ति जारी गर्दै राईको हत्या काँग्रेसको संलग्नता रहेको आरोप लगाउनु भएको छ । नेपाली काग्रेसले भने राईको हत्यामा आफ्नो पार्टीको संलग्नता नरहेको दावी गरेको छ । यस्तै, चुनावी प्रचारमा गएका आफ्ना ३ जना कार्यकर्ता सम्पर्क विहिन रहेको एकीकृत माओवादी बाग्लुङले जनाएको छ । उनीहरुलाई राष्ट्रिय जनमोर्चाले अपहरण गरेको आरोप लगाइएको छ । बाग्लुङको अर्जेवामा चुनावी प्रचारमा गएका एकीकृत माओवादी जिल्ला सदस्य लालबहादुर परियार, कुश्मराज शर्मा र बुद्धिबल थापा सम्पर्क बिहिन रहेका छन् ।
No comments:
Post a Comment