मजदुरद्वारा कलकारखानामा दुई दिने हड्ताल

२३ जेठ, काठमाडौ । मजदूरको न्यूनतम माग गर्दै आन्दोलनमा उत्रेको नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विहीबार र शुक्रबार गरी दुई दिन देशभर रहेका उद्योग कलकारखाना तथा व्यवसाय बन्द आह्वान गरेको छ । महासंघले मासिक न्यूनतम

तलब वृद्धि गरेर १५ हजार रुपैयाँ र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिक ७ सय पुर्‍याउनुपर्ने माग गर्दै दुई दिने उद्योग बन्दको घोषणा गरेको हो । सो संगठनको आह्वान अनुसार देशका विभिन्न भागमा उद्योग धन्दा र कल कारखाना ठप्प छन् ।
उता न्युनतम तलव बृद्धिको माग सहित आन्दोलनरत् आफ्नो संगठनको औद्योगिक मजदुर संघ मकवानपुर जिल्ला सचिव प्रकाश पौडलसहित ६ जना गिरफ्तार भएको भन्दै महासंघका संयोजक आचार्यले आपत्ति पकट गर्नु भएको छ ।

पौडेल सहित ६ जनालाई आज विहान ८ बजे हेटौडा औद्योगिक क्षेत्रबाट प्रहरीले गिरफ्तार गरेको भन्दै मजदुर नेता–कार्यकर्तालाई अबिलम्ब रिहाई गर्न जोडदार माग गर्नु भएको छ । हेटौंडा औधोगिक क्षेत्रबाट मजदुर नेताहरु नन्दलाल चौधरी कृष्ण सिलुवाल विष्णु हुमागाई, विमल विक र कर्ण कार्कीलाई प्रहरीले विहान पक्राउ गरेको हो ।
दुई दिने उद्योग हड्तालबाट पनि मजदुरहरुको मागप्रति सरकार र सरोकारवालाले वेवास्ता गरे अनिश्चितकालका लागि उद्योग बन्द गरिने महासंघले चेतावनी दिएको छ ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले बन्दप्रति आपत्ति जनाएको छ । महासंघले हिजो विज्ञप्ती जारि गरि आजदेखि देशभरका उद्योग–कलकारखाना बन्द गर्ने मजदुरको घोषणाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
महासंघका अध्यक्ष सुरज वैद्यले जारी गरेका विज्ञप्तीमा मजदुर र उद्योगीहरुबीचको विवाद छलफल र संवादबाट हल गरी बन्द फिर्ता लिनु पर्ने उल्लेख छ । 

No comments:

Post a Comment