काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई सहमतिमा नल्याई चुनाव हुन गाह्रो पर्ने बताउनुभएको छ । सहमतिका लागि खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने र मंसिर ४ को चुनाव सारेर भए पनि सहमति गर्नुपर्ने डा. कोइरालाको आग्रह छ ।
सहमतिका लागि मंसिर ४ को चुनाव सार्दा आकाश नखस्ने कोइरालाले बताउनुभयो । त्यसैगरी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने भन्दै रेग्मीले देशलाई बन्धक बनाइरहेको कांग्रेस नेता कोइरालाको आरोप छ ।
कोइरालाले अहिले पनि आफूले वैद्य नेतृत्वको माओवादीसँग सम्पर्क र छलफल गरिरहेको बताउनुभयो ।
कोइरालाले अहिले पनि आफूले वैद्य नेतृत्वको माओवादीसँग सम्पर्क र छलफल गरिरहेको बताउनुभयो ।
‘मंसिर ४ का लागि हामी मानसिकरुपले तयार छैनौं, हामीले भोटर लिस्ट नामसमेत लेखाएको छैन, दल दर्ता पनि गरेको छैन । उहाँहरु कसरी आउनुहुन्छ ?’ डा. कोइरालाले भन्नुभयो- ‘वैद्यलगायतका शीर्ष नेताहरु भोटर लिस्टमै छैनन् । भोट नै हाल्न पाउँदैनन्, उम्मेदवारीको परको कुरा भो । त्यति पनि नबुझ्ने ?
माओवादीलाई माइनस गरेर यो देशमा राजनीति गर्छु भनेर कसैले भन्छ भने, (माओवादी भनेको प्रचण्डजी मात्र हैन, वैद्य जी पनि हुनु भो) र यो देशलाई बनाउँछु भन्छ भने त्यो जतिको मुर्ख कोही पनि छैन
वैद्य माओवादीलाई चानचुने शक्ति ठानेर हेप्न नमिल्ने भन्दै कोइरालाले उनीहरु नआए चुनाव त गर्न सकिएला तर त्यसले शान्ति र संविधान नदिने बताउनुभयो । देशले द्वन्द्व थेग्न नसक्ने भएकाले वैद्य माओवादीलाई सहमतिमा लिएर चुनावमा जानुपर्नेमा कोइरालाले जोड दिनुभयो ।
वैद्य माओवादी चुनावमा आउँदा कसलाई पfmइदा र कसलाई घटना हुन्छ भनेर नहेरी राष्ट्रको फाइदा हेर्नुपर्ने कोइरालाको भनाइ छ । आफूले वैद्यलाई प्रचण्डसँग मिलेर चुनाव लड्न सल्लाह दिएको बताउँदै उहाँले दुई माओवादी मिले पनि कांग्रेसलाई आपत्ति नहुने बताउनुभयो ।
डा. कोइरालाले नेपालमा विदेशी हस्तक्षेप नै छैन भन्न नसकिए पनि चार दलका शीर्ष नेताहरुको असक्षमताले गर्दा सहमति हुन नसकेको बताउनुभयो । नेताहरुको असक्षमताको दोष अरुलाई पन्छाउन नमिल्ने बताउँदै डा. कोइरालाले भन्नुभयो- ‘हामीसँग टावरिङ पर्सनालिटी गिरिजाप्रसाद हुनुहुन्थ्यो । अहिले नेपाली कांग्रेसमा मात्र हैन, कुनै पनि दलमा त्यो टावरिङ पर्सनालिटी छैन । प्रचण्ड जीलाई अलिकति मैले मानेको हो । तर, उहाँले नेपाली जनतालाई निराश बनाउनु भो ।’
खिलराज रेग्मीले राजीनामा दिन नमानेको भन्ने प्रचण्डको भनाइप्रति डा कोइरालाले शंका व्यक्त गर्नुभयो । ‘मलाई त प्रचण्ढको भनाइमै शंका छ, राजनीतिक समितिको संयोजक सुशील कोइराला, झलनाथ खनाल हुनुहुन्छ, प्रचण्डजी किन रेग्मीलाई भेट्नु हुन्छ ?’ डा. कोइराला भन्नुहुन्छ- ‘तपाई आफ्नो असक्षमतालाई नलुकाउनुस् । सार्वजनिक रुपमै भन्नुस्, हामी असक्षम छौं । यस्तो पनि हुन्छ ? कन्भिन्स गर्न नसक्ने । अरे प्रधानन्यायाधीशलाई शक्ति पृथक्कीकरणबारे कन्भिन्स गर्न नसक्ने हो भने केको नेतागिरी गर्नु ?’
डा. कोइरालाको विचारोत्तेजक भनाइ उहाँकै शब्दमा :
हामी संक्रमणकालमा छौं । र, त्यो संक्रमणकालमा मोहन वैद्य, जसले सशस्त्र संघर्ष गरिकन यहाँसम्म आउनुभएको छ । पूर्वसभासदहरुको ठूलो चंग, ९० जना सभासद लिएर उहाँहरु बस्नुभएको छ । उहाँहरुलाई सहमतिमा ल्याउन एकदमै जरुरी छ । नत्र संविधानसभाले संविधान बनाउँछ कि बनाउँदैन भन्ने समस्या हुन्छ । त्यसकारण वार्ताद्वारा नै यसको समाधान गर्न सक्नुपर्छ, हुनुपर्छ र हुन्छ ।
प्रचण्डले निराश बनाउनु भो
प्रचण्डजीहरुसँग जब माओवादी एक ढिक्का थिए र नेपाली कांग्रेसको तर्फबाट हामी पनि समेल थियौं । धेरैपटक वार्ता सकियो भन्ने लागेको थियो । तपाईहरुले पनि लेख्नुभएको थियो वार्ता टुट्यो भनेर । तर, हामीले वार्तालाई छाडेनौं । कुरा गरिरहृयौं । तर, राम्रो के थियो भने हामीसँग टावरिङ पर्सनालिटी गिरिजाप्रसाद हुनुहुन्थ्यो । अहिले नेपाली कांग्रेसमा मात्र हैन, कुनै पनि दलमा त्यो टावरिङ पर्सनालिटी छैन । प्रचण्ड जीलाई अलिकति मैले मानेको हो । मैले पटक-पटक भनेँ तपाई देशको नेता बन्नुस्, पार्टीको नेता बनेर के गर्नुहुन्छ ? तर, उहाँले हामीलाई असफल बनाउनुभो । नेपाली जनतालाई निराश बनाउनु भो ।
राजनीतिमा जहिले पनि वार्ताको ढोका खुला राख्नुपर्छ । मलाई अचम्म के लाग्यो भने यत्रा सिनियर लिडरहरुले वार्ताको ढोका बन्द भो भनेर भन्नुहुन्छ । झलनाथजीले ढोका खुल्लै छ, झ्यालहरु बन्द भइसक्यो भन्नु भो रे । यसको अर्थ के ? यो लिडरसीप क्वालिटी हैन । कसैमा पनि छैन भन्छु म । एउटा हुन्छ नि नेताहरुले देशलाई कहाँ पुर्याउँछु, १० वर्षपछि यो देशलाई कहाँ पुर्याउँछु, कसरी देशमा चलेखल भइरहेको छ, यो सबै कुराका आँकलन गरेर हामीले छलफलमा ल्याउनु पर्यो नि ।
हामी छलफल के गर्छौं भने बैद्य जी आउनु भो भने नेपाली कांग्रेसलाई फाइदा हुन्छ । बैद्यजी आउनु भएन भने प्रचण्डजीलाई फाइदा हुन्छ । तर, मलाई दुःख के लाग्छ भने नेताहरुले कहिल्यै यो आंकलन गर्नु भो, नेशनलाई फाइदा हुन्छ कि हुँदैन ? द्याट इज इम्पोर्टटेन्ट ।
राष्ट्रलाई फाइदा हुन्छ भने वैद्यजीलाई बाहिर राखौं । तर, संविधानसभाको निर्वाचन हो यो । संविधानसभाको निर्वाचनमा सबै राजनीतिक दलको सहभागिता जरुरी छ । यत्रो ठूलो समूहलाई बाहिर राखेर होला चुनाव तर, त्यसले कुनै रिजल्ट दिँदैन ।
हुन त म आफूलाई नेता नै भन्दिँन । नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले सबै दलसँग सँधै वार्ता भइरहन्छ । त्यही क्रममा बैद्य समूहका मात्र हैन, साना दलहरुसँग पनि मेरो छलफल भइरहेको छ । छलफल कहिले निचोडमा पुग्छ, कहिले पुग्दैन । मैले शेखर कोइराला भनेर मात्र गरेको हैन, कांग्रेसको हैसियतले गरेको हो ।
मंसिर ४ मा भ्याइँदैन
एउटा कुरा हामीले बुझ्न जरुरी छ, त्यो धेरै नेताहरुले बुझिराख्नु भएको छैन । एकतातिर के भन्दै हुनुहुन्छ भने बैद्यजी आउने हो भने मन्त्रिपरिषद् अध्यक्षज्यूलाई प्रधानमन्त्री बनाउने र प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन हामी तयार छौं भन्नुहुन्छ । अर्को के भन्नुहुन्छ भने ४ मंसिरमा भाग लिनुस् । दुबै कुरा मिल्दैन । मैले पटक-पटक वार्ता गर्दा उहाँहरुले एउटा कुरा स्पष्टसित भन्नु भएको छ । त्यो भने मंसिर ४ का लागि हामीहरु मानसिक रुपले तयार छैनौं, हामीले भोटर लिस्ट नाम समेत लेखाएको छैन, दल दर्ता पनि गरेको छैन । चार दलका नेताहरु के भन्नुहुन्छ भने उहाँहरु आउनुहुन्छ भने हामी तयार छौं । कसरी आउनुहुन्छ ? जुन दलका वैद्यलगायतका शीर्षनेताहरु भोटर लिस्टमै छैनन् । भोट नै हाल्न पाउँदैनन्, उम्मेदवारी त परको कुरा भो । त्यति पनि नबुझ्ने ? मलाई यदी वैद्य जीले सही भनेको हो भने उहाँले भोट दिन पाउनुहुन्न । देव गुरुङजीले सही भनेको हो भने भोट दिन पाउनु हुन्न । भोट दिनै नउपाउने व्यक्तिहरु कसरी मोर्चा बनाएर पार्टी खोलेर आउनुहुन्छ ? यस्तो हास्यासपद कुरा गर्नु हुँदैन ।
वैद्यजीहरु आउनै पर्छ, ल्याउनै पर्छ । त्यो ल्याउनका लागि समय सारेर भए पनि ल्याउनुपर्छ । नेशनका लागि ल्याउने हो । नेशन थिलथिलो भइसक्यो । अब कुनै पनि सानोतिनो द्वन्द्व पनि स्वीकार गर्ने अवस्था छैन । काठमाडौं बन्द हुँदा अवस्था कति नाजुक हुँदो रहेछ भन्ने हालैको बन्दका क्रममा देखिहाल्यो । त्यसले के देखाउँछ भने जनता आजित भइसके, तर अर्कोतिर के छ भने दलहरु, खासगरी चार दल, राजनीतिक समितिमा रहेका ६ दल भनौं उहाँहरु यो कुरालाई नजरअन्दाज गर्दै हुनुहुन्छ । ल्याउनुपर्छ भन्ने मानसिकताबाट हिँड्नुपर्यो त्यो भइरहेको मैले देखेको छैन ।
रेग्मीले राजीनामा दिनुपर्छ
वैद्यजीहरुलाई ल्याउने हो भने प्रधानन्यायाधीश खिलराज रेग्मी जो अहिले अध्यक्ष पनि हुनुहुन्छ, उहाँले एउटा पद छोड्नुपर्छ भन्ने एउटा शर्त राख्नुभएको छ नि हाम्रा नेताहरु, प्रचण्डजी पनि भन्नुहुन्छ, त्यसपछि सरकार नै बन्दैन । उहाँहरुले गलत बुझिरहनु भएको छ ।
संविधानको धारा ३८ (१) बाट संविधानलाई ट्रयाकमा ल्याउने उपाय के त भन्दा राजनीतिक सहमतिबाट, जुन राम्रो बाटो पहिल्याएको थियो, राष्ट्रपतिको पहलमा । त्यसमा ३८0 (१) बाट खिलराज रेग्मी प्रधानमन्त्री हुने हो । उहाँले बन्दिँन भन्नु भो भने अर्को मान्छे खोज्ने हो । मान्छे छन्, खिलराजजी मात्र हुनुहुन्छ भन्ने पनि छैन । र, उहाँले अहिले जसरी सर्वोच्चमा ग्रहण लागेको थियो त्यो पनि हट्थ्यो । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँको पनि स्टाटस बढ्थ्यो । गर्न नसक्ने भन्ने पनि हैन । हेरक दिन बाधा अड्काउ फुकाउ हुँदैछ, यो बाधा अड्काउ फुकाउन कसले रोकेको छ र ? अब रहृयो कुरा, यही सरकार हुथ्यो कि दल हुन्थे भन्नेमा । खिलराज रेग्मी नै नयाँ प्रधानमन्त्री भएपछि यही मन्त्रीहरुलाई दलीय स्वरुप दिए भइहाल्यो । बैद्य जीहरु पनि रेग्मीलाई मान्न तयार भइसक्नु भएको छ ।
हाम्रै शीर्षनेता असक्षम
हामी विदेशीहरुलाई धेरै दोष दिन्छौं । म यो पनि भन्दिँन कि विदेशीहरुको चलखेल नै छैन, हुन्छ पनि । उनीहरुको हस्तक्षेप देखिन्छ । तर, त्योभन्दा पनि हामी कति असक्षम भन्ने हो । आफ्नो असक्षमतालाई लुकाउन अरुलाई दोष दिन्छौं । उनीहरुको इन्ट्रेष्ट होला । दक्षिणको, उत्तरको, सात समुन्द्र पारीको । तर, गर्ने कसले हो ? हामी हो ।
हामीले किन गल्ती गरेको प्रश्न त्यहाँ उठ्छ । यसले के देखाउँछ भने नेताहरु टोटल्ली असक्षम भए । यत्रो बर्ष राजनीति गरेका व्यक्तिहरुलाई मैले भन्दा पर्दा असक्षममै भन्छु राजनीतिक हिसावले । यदि उनीहरुले भनेका छन् भने पनि हुँदैन मान्दैनौं भनेर भन्नसक्नु पर्छ । आफ्नो असक्षमता लुकाउन उनीहरु भने, त्यसका कारण गरिदिएँ भनेर हुन्छ ? पहिले पनि भन्थे होला नि ? वीपी कोइरालाले मान्नु हुन्थ्यो ? मान्नुहुन्नथ्यो । गिरिजा कोइरालाले मान्नुहुन्थ्यो ? मान्नुहुन्नथ्यो । हामीलाई नै थाहा छ कति कुरा मान्नु भएको छैन ।
प्रचण्डको कुरामा विश्वासै छैन
खिलराजजीले प्रधानन्यायाधीश छाड्नु पर्ने हो भने सरकार नै छाड्छु भन्नु भो प्रचण्डजीले भन्नुभयो भनेर आयो । तर, मलाई त विश्वास छैन । प्रचण्डजी कति झुट बोल्नुभएको छ, तपाई हामीलाई थाहा छ । राजनीतिक समितिको संयोजक सुशील कोइराला, झलनाथ खनाल हुनुहुन्छ, प्रचण्डजी किन भेट्नु हुन्छ ? मैले भनेको के भने तपाई आफ्नो असक्षमतालाई नलुकाउनुस् । सार्वजनिक रुपमै भन्नुस्, हामी असक्षम छौं । यस्तो पनि हुन्छ ? कन्भिन्स गर्न नसक्ने । अरे प्रधानन्यायाधीशलाई शक्ति पृथक्कीकरणबारे कन्भिन्स गर्न नसक्ने हो भने के को नेतागिरी गर्नु ? मैले मन्त्रिपरिषद् अध्यक्षलाई भनेको थिएँ बैशाखतिर । चुनाव हुँदैन वैद्यजीलाई नल्याई । चुनाव हुन गाह्रो हुन्छ, एउटा पद छाडिदिनुस् ।
बारका साथीहरु डेमोक्रेटिक नै रहेनछन्
मलाई दुःख के लाग्यो भने नेपाली कांग्रेसले त छोड्यो छोड्यो, बार एशोसिएसनले पनि छोड्यो । उनीहरुको भेष्टेड इन्ट्रेस्टका लागि छोडे । मलाई चित्त दुखेको बारका साथीहरु सित । जब उहाँहरुले उठाएको मुद्दामा त्यो दिन चार दिन अझ डटेर लडेको भए खिलराजजी बाध्य हुनुहुन्थ्यो । मलाई के लागेको छ भने उहाँहरुको प्रजातन्त्रप्रति वास्तबमा गम्भीर हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न उठेको छ मेरो मनमा । बैद्य जीहरुले राष्ट्रपतिजीकहाँ उठाएको बेला त्यो बेला उठाउनु पर्दैन ? हामीले बोलेको छौं, बारका साथीहरुले बोल्नु पर्दैन ? मलाई यति चित्त दुखेको छ कि उहाँहरु डेमोक्रेट नै होइन जस्तो लागेको छ । एक शब्द कसैले बोलेनन् त्यो दिन । उहाँहरुले उठाएको कुरा थियो नि । बार कति चुपचाप लागेर बसेको छ भने नि मलाई चित्त दुखेको छ ।
मैले वैद्यजीहरुसँग वार्ता गरिराखेको छु
बैद्यजीहरुको समूह र ३३ दलका साथीहरुसँग मैले वार्ता गरिरहेको छु । वैद्यजीहरु पनि ‘मर्ता क्या नही कर्ता’ भनेजस्तो देखिनुभएको छ, यो देशका लागि डरलाग्दो छ । तराईमा उहाँहरुको के कस्तो छ मलाई थाहा छैन । तर मध्य पहाडमा त उहाँहरुको होल्ड छ ।
मैले त वैद्यजीलाई कतिसम्म भनेको छु भने तपाईहरु प्रचण्डसँग मिल्नुस् म सबैभन्दा म खुशी हुन्छु । मैले उहाँको घरमै गएर बनेको छु तपाईहरु मिल्नुस् नेशनका लागि मिल्ने हो तपाईहरु । मिल्न सक्नुहुन्न पार्टी दर्ता गर्नुस्, जुन हामीलाई विश्वास छैन । दल दर्ता गरेर चुनावमा भाग लिनुस् । कार्यगत एकता गर्ने नगर्ने तपाईहरुको कुरा हो । जसरी पनि चुनाव गरौं, तर तपाईहरु सम्मिलित चुनाव हुनुपर्छ । तपाईहरुको सहभागिता अनिवार्य छ । यो भन्ने म मात्र होला कांग्रेसमा ।
बिथोल्ने शक्ति भनेको नेताहरु कसरी हेरेका छन मैले बुझेको छैन । वैद्य शक्ति नै हैन भनेर बजारमा छ, त्यो म मान्न तयार छैन । किनभने प्रचण्डजी डराउनुभएको जस्तो देखिनुहुन्छ । सिट जित्छ जित्दैन भनेर । तर, यो कुरा जित्ने र हार्ने हैन क्या । गिरिजाबाबुलाई त थाहा थियो नि हाम्रो सेकेण्ड वा थर्ड पार्टी हुन्छौं भनेर । चुनावको केही दिन पहिले प्रचण्ड-बाबुरामलाई राखेर भन्नुभएको थियो नि । तर, चुनाव त गराउनु भो उहाँले । धेरैले भनेको हो चुनाव नगराउनुस् भनेर ।
यो कुरा हाम्रा नेताहरु खासगरी नेपाली कांग्रेसका नेताहरुलाई भन्छु म । उहाँहरुले अलिकति इतिहास हेर्नुस् । उहाँहरु नै हो त्यसबेलाको एक्टर । उहाँहरुले विचार नै गर्नु भएको छैन यो दुःख लाग्यो कुरा यो ।
नेशनका लागि माओवादी महत्वपूर्ण छ । माओवादीलाई माइनस गरेर यो देशमा राजनीति गर्छु भनेर कसैले भन्छ भने, (माओवादी भनेको प्रचण्डजी मात्र हैन, वैद्य जी पनि हुनु भो) र यो देशलाई बनाउँछु भन्छ भने त्यो जतिको मुर्ख कोही पनि छैन ।
श्रीलंकाको तुलना नगरौं
कतिपयले विगतमा माओवादीलाई श्रीलंकामा जस्तो गर्नुपथ्र्यो पनि भन्थे भन्ने सन्दर्भमा के भन्न सकिन्छ भने राजनीतिमा उग्रवामपन्थी र अति दक्षिणपन्थी, मध्यधार सबै हुन्छ । बैद्यजीहरुलाई पनि एक्स्िट्रम लेफ्ट भन्छन् । अझै विप्लवजीलाई अझ एक्स्िट्रम लेफ्ट त्यो त हरेक देशमा हुन्छ । तर, हामीले लिएको बाटोको विकल्प छैन ।
श्रीलंका र हाम्रो परिस्थिति परक छ । एकतिर भारत छ भने अर्कोतिर चीन छ । उनीहरुको निकै ग्रोथ छ । उनीहरुको सुरक्षाको चिन्तालाई हामीले सम्बोधन गर्न सकेको छैन । कुरा गरेर, सम्झाएर जति दिन सक्ने हो दिएर गर्नु पर्यो नि । अनि हामीले फाइदा लिनुपर्यो । त्यसैले श्रीलंकाको यहाँ तुलना नगरौं । भौगोलिक परिस्थिति नै यस्तो छ कि चीन र भारत मात्र छैन अमेरिकन र युरोपियनहरु पनि सक्रिय छन् । उनीहरुको गतिविधी हेर्दा म कहिले काँही झसङ्ग हुन्छु । भारतको क्रियाकलापले म झसङ्ग हुन्न, किनभने त्यो स्वभाविक हो ।
मैले समाचारहरुमा युरोपियनहरुले बैद्यबिना चुनाव सम्भव छैन भनेर लविङ गरेको अखबारहरुमा पढेको छु । मैले त भेटेको छैन । तर, यदि त्यो हो भने उनीहरु सही ट्राकमा छन्, बैद्यबिना चुनाव सम्भव छैन । तर, उहाँहरु नै हुनुपर्छ भन्ने पनि ।
सेना परिचालन र आशंका
चुनावमा सेना परिचालन राम्रो पक्ष हो । तर, डरलाग्दो के छ भने कतिदिनसम्म । मंसिर १० गतेसम्म मात्र दिनु पर्ने थियो आर्मी मुथमेन्टका लागि, त्यो पनि कात्तिक अन्तिम वा मंसिर १ गतेबाट । १०/१५ दिनका लागि । त्यो छैन जस्तो देखिएको छ । यो गम्भीर हो । यदि मिति तोकेर भनेर भनिएको भए हुन्थ्यो तर, नतोकिएपछि आर्मी मुभेमेन्ट सधैका लागि खुला भइगो नि । संसदको विशेष समितिबाट एक महिनाभित्र अनुमोदन गर्नु पर्ने भन्ने व्यवस्था छ तर, संसद नभएपछि मिति तोक्नु पर्दैन ? यसो भएको भए चुनावको लागि हो भन्ने हुन्छ । खाली दिमाग सैतानको घर भनेर भन्छु म त । मेरो दिमागमा यस्तो कुरा आउँछ । मिति नतोकिएपछि त तपाईले रोक्नै सक्नु हुदैन ।
मैले नबुझेको त के भने रेग्मीजी त प्रधानन्यायाधीश भइसकेको मान्छे, उहाँले बाधा अड्काउ फुकाउ नगरी आर्मी मूभ गर्नुपर्छ भनेर कसरी पठाउनु भो राष्ट्रपतिसमक्ष ? या त उहाँ कानूनको ज्ञाता नै होइन, हो भने उहाँले बुझेर यस्तो गर्दै हुनुहुन्छ । धन्न शीतलनिवासले केही सोचेर बाधा अड्काऊ फुकाउ भन्यो । तर, समयसीमा छुटेको भने फेरि त्यही बाटोमा जान्छ ।
रेग्मीले देशलाई बन्धक बनाउनु भो । एउटा व्यक्तिले देशलाई बन्धक बनाइराख्नु भएको छ । लस्ट फर पावर खिलराज जीमा पनि छ, प्रचण्डमा पनि छ, अरु नेताहरुमा पनि देख्छु म । यो एकदमै गम्भीर छ, तपाई कुनै पनि बेला तानाशाही हुनसक्नुहुन्छ । कुनै दिन, कुनै समय । खिलराजजी बन्दै हुनुहुन्छ ।
बाबुरामजीको ‘राष्ट्रियता’
अहिले बाबुरामजी राष्ट्रियताको खुब कुरा गर्नुहुन्छ, त्यो बेकार हो । अमेरिकी राजदूत पीडर डब्लू बोडेले बैद्यलाई भाग लिए लिऊ, हैन भने कुटेर पनि भागाउनुपर्छ भनेको हैन । नेताहरु चाही काठमाडौंमा बस्ने अनि बोडे चुनावको प्रचार गरेर हिड्ने ? अहिले जर्मन राजदूतले भन्दा यत्रो रुवाहासी गर्ने बाबुरामजीले ? के भो ? किन ? प्रश्नचिन्ह बाबुराम जीमा लगाउनु पर्यो नि । बोडेले भन्दा केही नहुने ? जर्मनले भन्दा हुने ?
उहाँ आफूलाई राष्ट्रियताको पक्षपाती देखाउनुहुन्छ केही पनि हुनुहुन्न, ‘हि इज गुड, वट नोथिङ’ । पढेलेखेका मान्छे त धेरै छन् देशमा ।
-अनलाइन खबरबाट

No comments:
Post a Comment